कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ ‘सोसाइटल ओभरसिज सर्भिसेज प्रालि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ । साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौन व्यापार भइरहेको थियो । जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौनकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो ।
पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् । नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् । खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ । एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ ।पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ । उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् । ‘अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,’ अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, ‘यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।’
खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् । झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् । यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, ‘घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।’ उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू ‘दिन दुगुना, रात चौगुना’ महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।
सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्,यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर ‘एक्स्ट्रा टिप्स’ पाइरहेका छन् ।’ उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा ‘डेलिभर’ पनि भइरहेको छ । ‘जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?’ सरकारलाई सञ्चालिकाको प्रश्न छ, ‘हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?’ पार्लरमा सुन्दर हुन आउने ग्राहककै ‘डिमान्ड’का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ ।