2 Aug 2016

प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

14:47

श्रावण १८, २०७३- नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अगाडि संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा छन् । 

दाहालले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन पनि पाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहालको उम्मेदवारीको समर्थक बसेका छन् । फोरम लोकतान्त्रिकका योगेन्द्र चाैधरीपनि दाहालको समर्थक बसेका छन् । 
 
सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको तर सरकारमा भने नजाने बताएका छन् ।