2 Aug 2016

नेपाली स्वीमर गाैरिका सिंह रियाे अाेलम्पिककै सबैभन्दा कान्छी खेलाडी

14:10

श्रावण १८, २०७३- १३ बर्षीय नेपाली स्वीमर गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने सबभन्दा कान्छी खेलाडी भएकी छन् ।भूकम्पबाट बाँचेकी उनी रियो ओलम्पिककै सबभन्दा कान्छी खेलाडी भएको उल्लेख गर्दै रियो ओलम्पिकको अफिसियल पोर्टल (www.rio2016.com) ले लेख प्रकाशित गरेको छ  ।
२६ नोभेम्बर, २००२ मा पाटन अस्पतालमा जन्मिएकी गौरिका विश्वव्यापी सहभागीता (सहभागी हुनैपर्ने खेल) अन्र्तगत् ३१ औं ओलम्पिकमा अवसर पाएकी हुन् । नेपालको नम्बर १ स्वीमरको रुपमा उनले १ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । यसको हिट्स (प्रारम्भिक चरण) आइतबार हुनेछ । यस दिन उनी १३ बर्ष ३ सय ५५ दिनकी हुनेछिन् । यो स्पर्धामा १ मिनेट ७.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा छ ।
‘ओलम्पिकमा सहभागी हुने सपना बुनेको थिए । तर, सानो उमेरको भएकीले यो अवसर पाउँछु भन्ने मलाई लागेको थिएन । एक महिनाअघि मैले ओलम्पिक खेल्न पाउने निश्चित हुदा अचम्म लागेको थियो,’ उनलाई उद्दृत गर्दै लेखिएको छ, ‘सबभन्दा सानो उमेरको खेलाडीको रुपमा सहभागी हुँदा रोमान्चित भएकी छु । यो अझै अपत्यारिलो लागिरहेको छ ।’ उनी बुबा पारससँगै मंगलबार लन्डनबाट रियो पुगेकी छन् ।
‘उनी विशेष हुन् र यो ओलम्पिककै बसभन्दा कम उमेरकी खेलाडी भएकोमा विश्वास नै लागिरहेको छैन,’ बुबा पारसको भनाइ उल्लेख छ । गौरिकाले माघ–फागुनमा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक ऐतिहासिक रजतसहित चार पदक जित्दै सनसनी मच्चाएकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदको पौडीतर्फ व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
लन्डनस्थित रोयल फ्री हस्पिटलका सर्जन पारस सिंह र २०५० सालकी एसएलसी बार्ड टपर गरिमा राणाकी पहिलो सन्तान गौरिका तीन बर्षको छंदा लन्डन गएकी थिइन् । उनी चार बर्षयता लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा प्रशिक्षण गरिरहेकी उनी ११ बर्षको छंदै चर्चामा आएकी थिइन् । स्कुल बिदामा काठमाडौं आएकी उनले साउन २०७१ मा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा भएको १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा आठ स्वर्ण र एक रजत पदक जित्ने क्रममा आठ राष्ट्रिय कीर्तिमान बनाएर तहल्का मच्चाएकी थिइन् ।