29 Jul 2016

धुर्मुस सुन्तलीको लागि सहयोगी हातहरू एकाएक अघि बढ्दै

11:35

हामीले उठाएको पैसा बरु तपाईंले नै राखे हुन्छ, हामी यो विषयमा केही आपत्ति जनाउँदैनौं तर प्लिज पैसाचाहिँ लिइदिनुस्, हामीलाई अप्ठयारो पर्छ, तपाईंले नाई भन्न पाउनुहुन्न’ धुर्मुस–सुन्तली गिरान्चौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना अभियानका लागि एक संस्थाका प्रतिनिधिले विदेशबाट यस्तो आग्रह गर्दा सीताराम कट्टेल (धुर्मुस) भन्दै थिए–‘अब यो अभियानका लागि आवश्यक रकम पुगिसक्यो, तपाईंको पैसा लिनसक्ने अवस्था नै छैन्, भोलि हामीले यो बस्ती हस्तान्तरण गर्दा समयमा पारदर्शी ढंगले सहयोगी सबैको नाम उल्लेख गर्नुपर्ने हुन्छ, त्यसमा निर्धारित बजेटभन्दा बढी पैसा कसरी देखाउने ? त्यसैले अर्को प्रोजेक्ट गरियो भने यो रकम लिन सकिन्छ, अहिलेलाई धन्यवादसहित बिदा माग्ने बाहेक मसँग अर्को विकल्प छैन ।’


यसरी फोन गरेर सहयोग रकम दिन सम्भव नभएपछि ताइवानबाट सहयोग रकम बोकेर आएको एउटा समूह बस्ती निर्माणस्थल सिन्धुपाल्चोक गिरान्चौरमै पुग्यो । उक्त समूहले अनुरोध गरेर ३ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गर्‍यो । धुर्मुस भन्दै थिए, ‘आवश्यक रकम पुगिसके पनि सहयोग अस्वीकार गर्न गाह्रो भयो, अब यही नै आएपछि कसरी हुँदैन भनेर फर्काउनु ?’

धुर्मुस करिब ३ महिना अघिको फ्लासब्याकमा पुगे । १ लाख ७४ हजार रकम फाउन्डेसनमा हुँदा करिब ५ करोडको दोस्रो प्रोजेक्ट सम्पन्न गर्ने साहसका साथमा उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्रको विकट गिरान्चौर पुगेका थिए । मेलम्ची पुग्न २ किलोमिटर बाँकी रहँदै राजमार्गबाट भित्र ४ किलोमिटर उकालो चढेपछि गिरान्चौर बस्ती पुगिन्छ । धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट भूकम्पपीडितहरूको सहयोगार्थ केही गर्ने उद्देश्य राखेर धुर्मुसले उक्त स्थान रोजेका थिए । सुरुमा गिरान्चौर क्षेत्रका ४ सय घर नै पुनर्निर्माण गर्नुपर्ने शर्त राखिएको थियो, तर त्यसका लागि आवश्यक रकम ठूलो हुने भएकाले उनले त्यो सम्भव नहुने बताए ।

त्यहाँको ६५ परिवारको घर पुनर्निर्माण गर्न सजिलो त थिएन नै, प्रोजेक्ट सफल बनाउन आवश्यक पर्ने ५ करोड रुपैयाँ कसरी व्यवस्थापन गर्ने चुनौती पनि थियो । मुख्य पक्की सडक छोडेपछि भित्र छिर्ने ४ किलोमिटर सडकको दुरुह अवस्था देखेर मोटरसाइकल सवार उनको शरीर काँप्यो । बस्ती निर्माणका निम्ति आवश्यक पर्ने सामग्री पुर्‍याउन पनि सडक चाहिन्थ्यो । रातारात डोजर चलाएर उनले बाटो निर्माण सम्पन्न गरे । बाटो निर्माणको खर्च २० लाख नाघ्ने क्रममै अत्तालिने वातावरण तयार भैसकेको थियो । धुर्मुसले भने– ‘कुन्जना (सुन्तली) र मैले अनलाइनमार्फत विश्वभरका नेपालीसँग सहयोगको अपिल गर्‍यौं । सबैले हाम्रो भावना बुझेर दिल खोलेर सहयोग गर्नुभयो, सहयोगी मन र अभियानको प्रचार गरिदिने मिडिया सबैप्रति हामी अत्यन्तै आभारी छौं, अब यो निर्माण कार्यलाई सफल ढंगले सम्पन्न गर्नुपर्ने दायित्व छ ।’