23 Jul 2016

नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार बिहानदेखि अहिले सम्मकै ठुलो पहिरो खसेको छ

17:20

श्रावण ८, २०७३- नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार बिहान अहिले सम्मकै ठुलो पहिरो खसेको छ । पहिरो पन्छाउन समस्या भएकाले झण्डै १२ घण्टा सवारी र यात्रु बाटोमै अलपत्र परे । यो खण्डको ४ किलो भन्ने स्थानमा ५० मिटर लामो पहिरो खसे पछि बिहान ६ बजेदेखि सवारी बन्द भएको हो । दिनभर पहिरो पन्छाएर साँझ ६ बजे १२ घण्टा पछि सबारी सुचारु भएको छ ।

पहिरोका कारण पूर्व र पश्चिम नेपालबाट चितवन हुँदै काठमाडौं र पोखरालगायत विभिन्न स्थानमा आवतजावत गर्ने हजारौं सवारीसाधन र मालबाहक सबारी, एम्बुलेन्सहरु बीचबाटोमै रोकिए । यात्रुहरु दिनभर भोकै बस्न बाध्य भए । अहिले सम्मकै ठुलो पहिरो खसेकाले पन्छाउन दिनभर लागेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए । उनले भने, ‘पहिरो हटाई साँझ ६ बजेबाट दुई तर्फि सबारी सुचारु गरेका छौ ।’ यो सडक राजधानी प्रवेश र बाहिरिने मुख्यमार्ग हो । यंहा दैनिक ८ हजार सवारी साधन गुड्ने गर्छ । योक्षेत्रमा दिनहुँ पहिरो खस्न थाले पछि चालक र यात्रुमा त्रास बढेको छ । बिहान देखी भोकभोकै पहिरो जोखीम क्षेत्रमा बस्नु परेको महोत्तरीका सुरजकुमार यादवले बताए । उनले भने, ‘पहाडमाथिबाट झरेको ढुँगा लागेर मरिन्छकी भन्ने त्रासमा दिनभर बस्नु पर्‍यो ।’

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत सडक बिस्तार तथा स्तरोन्नतीको काम सुरु भएदेखि यस खण्डको खहरेखोला, कालीखोला, जलबिरे, भालुढुङ्गा, सिमलताल, ९ किमि र ५ किमि भन्ने स्थानमा बर्षा र अन्य बेला सुख्खा पहिरो जान थालेको हो । यहाँ हिंउदमा सुख्खा पहिरोले सताएको थियो । आयोजनाले पहाड काटेर सडक फराकिलो बनाउन ‘स्काभेटर’ प्रयोग गरेपछि पहिरोको जोखीम बढेको हो ।

नारायणगढबाट १७ किलोमिटर दुरीको गाइघाट–जलबीरे र कालिखोलासम्मको खण्ड पहिरोको जोखिममा रहेको आयोजनाले जनाएको छ । काम नभए पनि बर्षा वा सुख्खा मौसममा यहाँ पहिरो जाने सम्भावना छ । आयोजनका इन्जिनियर शिव खनालले दिनहुँ जसो पहिरो खस्ने गरेको बताए । विश्व बैंकको २ अर्ब ९० करोड ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत आयोजनाले सडक बिस्तार तथा स्तरोन्नतिको काम सुरु गरेको हो ।