विराटनगर । लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ । जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर, डाइनिया, कटहरी, सोराभाग लगायत दर्जनौँं गाविसका साथै विराटनगरको बखरी बस्ती समेतका एक हजारभन्दा बढी घरपरिवार विस्थापित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न नदीका पानी मानव बस्तीमा पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा निरन्तर रुपमा जुटेका छन् । बाढीबाट विस्थापित परिवारलाई रेडक्रस मोरङले खाद्यान्न सामग्री वितरण गरिरहेको छ । एक हजार २०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको र थप ७०० परिवारलाई खाद्यान्न सामग्री वितरणको तयारी भइरहेको रेडक्रस मोरङका अधिकृत कमल कोइरालाले जानकारी गराउनुभएको छ ।
सबैभन्दा बढी क्षति बक्राहा खोलाले गरेको छ । पथरी–डाइनिया सडक मार्गको पूर्वपट्टिको भाग पूर्ण रुपले जलमग्न छ । गोविन्दपुर– ५ र डाइनिया– ५ मा पुग्न नसक्ने अवस्था छ । त्यहाँबाट प्रहरीको संयुक्त टोलीले कतिपय परिवारलाई उद्धार गरेको छ । सयाँैं मानिसले यतिखेर सडकमै आश्रय लिएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा रोपिएका हजारौँ हेक्टरका धानबाली डुबान अवस्थामा रहेको छ । एक सातासम्म डुबान भइरहेमा धानबाली गल्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो । मधुमल्लाका चार परिवार विस्थापित
यता बक्राहा खोलाले कटान तीव्र पारेपछि मधुमल्ला–४ धप्पर टोलका चार परिवार आज बिहान विस्थापित भएका छन् । स्थानीयवासी शेरबहादुर मगर, सनबहादुर मगर, चेतबहादुर मगर र झगत मगरको घर खोलाले कटान गर्न थालेपछि उनीहरु पूर्ण रुपमा विस्थापित भएको स्थानीयवासी कमल मगरले जानकारी दिनुभयो ।
त्यस्तै सोही ठाउँका सुन्दर मगर, शिव मगर, दीपक मगर, शुक्र मगर, कालीबहादुर मगर, मनबहादुर मिश्र, गर्जमान मगर, कोपिला खड्का, रमिला राई, तारावीर खड्का र अशोक गोलेको घर पनि डुबानमा परेर कटानको जोखिममा रहेको छ ।
लगातारको वर्षाका कारण पीडितलाई सुरक्षित स्थानमा सारेर राहत उपलब्ध गराउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले जानकारी दिनुभयो ।
स्थानीयवासी आन्दोलित
लगातारको वर्षाका कारण डुबानमा परेपछि विराटनगर– ४ र ५, कञ्चनबारीका बासिन्दा आन्दोलित भएका छन् । सडक अवरुद्ध गरेर आन्दोलनमा स्थानीय बासिन्दा उत्रिएपछि आज बिहान कोसी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडक खण्डमा दुई घन्टा सवारी आवागमन ठप्प भयो । लगातारका वर्षाका कारण विराटनगरका सबै वडा डुबानमा परेका छन् ।
भारी वर्षा भई पानीको निकास नभएपछि विराटनगर डुबानमा परेको भन्दै नाला निर्माणको माग गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि प्रजिअ तोयम रायको नेतृत्वमा सरकारी टोली कञ्चनबारी पुगेको थियो ।
26 Jul 2016
Subscribe to:
Post Comments (Atom)
