नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि काँग्रेसको दृष्टिकोणका बारेमा नेता विमलेन्द्र निधिले सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले राजीनामा गरी मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रले नेकपा (एमाले) ले सो पार्टीसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको छ ।
वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजित पत्रकारसम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा काँग्रेससँग सहमति भइसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पक्षमा छौँ, सबै दलसँग छलफल गरेर केही दिनमै नयाँ सरकार गठन हुन्छ ।”
काँग्रेस र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि मधेसी दललगायत आन्दोलनरत पक्षका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने वातावरण बनाउने, संविधानले तय गरेका निर्वाचन समयमै सम्पन्न गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग्याउने, भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्र रुपमा अघि बढाउनेलगायतका विषयमा सहमति भएको बुझिएको छ ।