23 Jul 2016

बाढी तथा पहिरोले मुलुकभर शुक्रबार र शनिबार काहाँ के भयो ?

16:59

काठमाडौं, न्यूज अभियान । मुलुकभर बाढी तथा पहिरोले ठुलो क्षती पुर्याएको छ । मुलुकभर हिजो शुक्रबार र आज शनिबार काहाँ के भयो एक रिपोट तयार पारेका छौं ।
मोरङ्ग ः अविरल बर्षाको कारण शनिबार बक्राहा नुनसरी खोलामा आएको बाढीले मधुमल्ला–५ बेतेनी गाउँमा लगाएको बालुवाको अस्थायी बाँध कटान गरी लगेको छ । बाढीले १५ घरलाई प्रभावित बनाएकोले सुरक्षित स्थानतर्फ गई बसेका छन् ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटी गएको र पानीको बहाब घट्दै गरेकोले स्थानीयहरूलाई सुरक्षित स्थानतर्फ उद्धार गरी लैजाने कार्य भइरहेको छ ।
यसैगरी अबिरल बर्षाको कारण शनिबार मोरङ केरउना–९ स्थित चिसाङ खोलाको बाढीले सोही ठाउँ बस्ने ३५ वर्षीय दयाराम उरावको घर र गाई ग्वाली सहित ४ कठ्ठा ऐलानि जग्गामा खोलो पसेर ६ जना बिस्थापित भएकोले उद्धार गरी धनमालसहित सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैगरी मोरङ्ग हसन्दह–३ र ५ स्थित बक्राह खोलाको बाँध फुटेर करीव ३ सय घरहरु मध्य अधिकांस डुबानमा रहेका छन् । हसन्दा–५ जयनगरमा १२ जना मानिसहरु बाहिर सुरक्षित स्थानमा निस्कन नसकि सहयोग मागेपछि प्रहरी टोलीले उद्धार गरी हसन्दास्थित सुगानी निमाबिमा सारेको छ ।
प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गर्ने प्रयास भइरहेको छ । साथै सोही खोलाको बाँध फुटेर स्थानीय सुगा बजारमा पानी पसी २० घर डुबानमा परेकोले प्रहरी टोली खटी ती घरका मानिसहरुलाई सुरक्षित स्थानमा सारेको छ ।
चितवन ः अबिरल बर्षाको कारण शनिबार नारायणी नदीको बहाव बढ्न गई भरतपुर उपमहानगरपालिका–१८ स्थित सिद्धीदेवी सामुदायिक वनको नदी किनारामा ४ मिटर जंगल क्षेत्र कटान गरेकोले जिल्ला दैवी प्रकोप उद्धार टोली, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय जनताको सहयोगमा ग्याबिङ भर्ने कार्य भइरहेको छ । हाल नदीको बहाव घट्दै गइरहेको छ ।
यसैगरी चितवन चण्डिभञ्याङ–५ कालिखोलास्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा शनिबार पहिरो आई दुबैतर्फ बाटो अबरोध भएकोले प्रहरी टोली खटी गई डोजरद्वारा बाटो खुलाउने पहल भइरहेको छ ।
सप्तरी ः अविरल बर्षाको कारण शनिबार सकरपुरा १ देखि ९ वडासम्म खाडो खोलाको पानी पसेर करीव ८० घरहरु, महादेवा ४, ७, ८ र ९ वडाका करीव ६५ घरहरु तथा बथनाहा–९ लेखी टोलका करीव ४० घरमा पानी पसेको र हाल पानी घट्ने क्रम जारी रहेको छ । उक्त स्थानमा प्रहरी टोली खटी गई उद्धार कार्य भइरहेको छ ।
रुपन्देही ः अबिरल बर्षाको कारण शनिबार थुमुवा पिपरा–८ बस्ने रामदास यादव, रामलखन कुर्मि र जोगेन्द्र यादवका कच्ची घरहरुमा पानी पसेकोले प्रहरी टोली खटि गई ३ घर परिवारका १६ जनालाई सुरक्षितसाथ उद्धार गरी अफन्तको घरमा सारेको छ । ३ वटा घरका चारै सुरका इँट्टाहरु खसेर क्षति भएको छ ।
म्याग्दी ः मुना–४ दरखोलामा रहेको प्रथम दरखोला लघु जलविद्युत परियोजनाको भवनको अबिरल बर्षाको कारण पावर हाउस भवनको अगाडिको भाग चर्किएर क्षति भएको छ । विजुली बन्द भई ९ सय घर प्रभावित भएका छन् । साथै अविरल बर्षाको कारण म्याग्दी लुलाङ–५ लम्सुङ जुकेपानीमा शनिबार पहिरो झर्न गई ४ घरहरु जोखिममा परेकोले प्रहरी टोली खटी गएको छ ।
सुनसरी ः अविरल बर्षाको कारण पानी जम्मा भई तनमुना–२ मा ४२ घरहरु, छिचा–२ मा १७ घरहरु र चिमडी–१ र २ मा ६ घरहरु शनिबार डुबानमा परेकोले प्रहरी टोली खटी गएको छ । उक्त स्थानमा करीव १.५ फिट पानी घरभित्र पसेको छ । स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।
गुल्मी ः अबिरल बर्षाको कारण रिडि–रुद्रबेणी–बाग्लुङको बुर्तिवाङ जोड्ने कच्ची सडक खण्ड अन्तर्गत रुरु–४ लामचौपारी, ग्वादी–५ साघुरे भिरमा शनिबार पहिरो खस्न जाँदा बाटो पुर्णरुपमा अबरुद्ध भएकोले प्रहरी टोली खटी गई बाटो खुलाउने सम्बन्धमा सडक डिभिजन कार्यालय र स्थानिय ठकेदारसँग समन्वय भइरहेको छ ।
सिन्धुपाल्चोक ः कदमबास–७ स्थित अरनिको राजमार्गको बलेफीमा शनिबार सुख्खा पहिरो आई बाटो पूर्णरुपमा अबरोध भएकोले प्रहरी टोली खटी गई एकतर्फि बाटो खुलाएको छ ।
धादिङ ः जोगिमारा–२ मन्थली गाउँ बस्ने चेतलाल श्रेष्ठको गोठ माथिबाट शनिबार पहिरो आई २ तले गोठ भत्कनुको साथै ९ बाख्रा, १ भैसी र २ सय कुखुरा मरेर करीव ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
काठमाडौं ः सिस्नेरी–३ अमलाडाँडामा शनिबार सुख्खा पहिरो आउँदा काठमाडौं–फर्पिङ्ग हुँदै हेटौंडा चल्ने सडक खण्ड पुर्णरुपमा बन्द भएको छ ।
कैलाली ः सहजपुर–७ धपरेनीस्थित भिमदत्त राजमार्गमा शनिबार वर्षाको कारण पहिरो आई बाटो अबरोध भएको छ ।
भोजपुर ः तिवारीभन्ज्याङ–५ आइतबारेस्थित भोजपुर–लेगुवा लोकमार्गमा अबिरल बर्षाको कारण शनिबार पहिरो आउँदा करीव १५ मिटर बाटो अबरोध भएको छ ।
सबै स्थानहरुमा स्थानीय प्रहरी खटी गई बाटो खुलाउने पहल भइरहेको छ ।
स्याङ्जा ः चापाकोट नगरपालिका–९ ठाटीभङज्याङस्थित पानीको पधेरामा हातखुट्टा धुन गएका सोही ठाउँ बस्ने श्याम शाहीको छोरा १२ वर्षीय समिर शाही र रामबहादुर मल्लको छोरा १४ वर्षीय अञ्जान मल्लको शुक्रबार  माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यसैगरी अविरल वर्षाको कारण स्याङजा सेखाम–३ मेसौदी बस्ने बाबुराम सार्कीको घर शनिबार पहिरो झरी पुरिएकोले प्रहरी टोली खटी गएको छ ।
नवलपरासी ः त्रिबेणी सुस्ता–४ स्थित नारायणी नदीमा दाउरा तान्ने क्रममा त्रिबेणी सुस्ता–४ सुस्ता बस्ने ५० वर्षीय बिक्रम पासी शनिबार नदीले बगाई बेपत्ता भएका छन् ।
दोलखा ः लापीलाङ–७ बस्ने ३५ वर्षीय चन्द्रकुमार थामी (जन्तरे) आफ्नै खेतमा रोपाई गरी घर फर्कने क्रममा शुक्रबार लापीलाङ–५ स्थित भद्रवती खोलाले बगाई वेपत्ता भएका छन् । गोरुको पुच्छर समाती उक्त खोला तर्ने क्रममा उनलाई बगाएको बताइएको छ ।
सुनसरी ः भुटाहा–३ मरियाखोलामा शुक्रबार माछा मार्ने क्रममा नरसिंह–१ बस्ने दाउद आलमको छोरा १२ वर्षीय समिम आलम अचानक खोलामा डुबेर बेपत्ता भएका छन् ।
प्रहरी टोली खटी गई स्थानियको सहयोगमा वेपत्ता हुनेहरुको खोजी भइरहेको छ ।