21 Jun 2016

बाढीले झापा, सुनसरी र मोरङमा लगभग अढाई सय घर डुबायो

20:11

दुई दिनयताको वर्षासँगै पूर्वका विभिन्न नदीमा आएको बाढीले नदी आसपास क्षेत्र मंगलबार जलमग्न भएका छन् । गाउँ-बस्ती जलमग्न छन् भने दर्जनौं घर डुबानमा परेका छन् । बाढीले झापा, सुनसरी र मोरङलगायत जिल्ला बढी प्रभावित भएको छ ।

पैनीमा डुबेर इटहरी ४ का ६६ वर्षीय रामबहादुर बराइलीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्रमा कोसी नदीले बगाउँदा एकजना बेपत्ता छन् । बराहक्षेत्र मन्दिर दर्शन गर्न गएका झापाको कन्काइ नगरपालिका ३ का हरिप्रसाद ओली बेपत्ता भएका हुन् । उनी नुहाउन लाग्दा बगेको प्रहरीले जनाएको छ ।

बाढीले झापामा कम्तीमा सवा सय घर डुबेका छन् । भद्रपुर, विर्तामोड, गरामनी र दमक क्षेत्रका घर डुवानमा परेका हुन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनुसार मेची नदीको बाढीले नदी आसपासमा वसोवास गर्ने घर पूरै डुबेका छन् । रतुवाको वाढीले दमक, लखनपुरलगायत क्षेत्रका घर, अन्दुवा खोलाको वाढीले विर्तामोड र देउनिया खोलाको वाढीले गरामनीका केही घर डुवानमा परेका हुन् ।

अविरल वषर्ासंगै मेची, कन्काई, कमल, रतुवा, विरिङ, टाङटिङलगायत ठूला नदी, जलासय र खोला खोल्सामा पानीको वहाव अचानक वढेको छ । नदी किनारमा आश्रति सुकुम्वासीका घर डुवानमा परेको प्रहरीले जनायो । कन्काईको वाढीले शरणामति, महाभारा, पाँचगाछी, टाघनडुव्वा र कुमरखोद गाविस र शिवसतासी नगरपालिकाका सर्वसाधारण प्रभावित छन् । 'घर डुबानमा परेका सर्वसाधारणलाई नजिकको स्कुल तथा धर्मशालाहरुमा आश्रयमा राखिएको छ', शर्माले भने ।

प्रहरीका अनुसार रतुवाको वाढीले एकजना बगाए पनि उनको तत्काल उद्धार गरिएको छ । पौडी खेल्न नदीमा पसेका दमक १ का ४५ वषर्ीय राजकुमार राई बगेपछि प्रहरी र सर्वसाधारणले उनको उद्धार गरेका थिए । शरणामतिको टप्पु र उराउ वस्ती, कुमरखोदको सुगा वथान, टाघनडुव्वाको नयाँवस्ती, कन्काई नगरको त्रिवेणी टोल र मिलन वस्ती, माइधारको विर्खे वस्ती, होकल वाडी, हेम्जाडागी, भाकुरमारीलगायत वस्ती कन्काईको वाढीमा परेका छन् । कुमरखोद ८ सुगा वथानका राजन टुडुले वाढीले गाउँ जलमग्न भएको छ । 'कतिखेर कन्काईको वाढी पस्ने हो थाहा छैन', टुडुले भने, 'पानी पर्न थालेपछि रातभर जागै बस्छौ ।'













मोरङको बक्राहा खोलाको बाढीले मधुमल्ला ४ थामेझोडाका ३० घर डुबानमा परेका छन् । ती घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । खोलाको बाँध भत्किएर वाढी वस्तीमा पस्दा ३० घर डुबानमा परेका हुन् । बक्राहामा हरेक वर्ष बाढीले मधुमल्लाको थामेझोडावासीलाई प्रभावित गर्दै आएको छ ।

बक्राहाकै बाढीले मधुमल्लाको वडा ५, ६ र ८ का ३ सयभन्दा बढी घर प्रभावित भएको प्रहरीले जनाएको छ । मधुमल्लाकै वडा ५ बेदेनीमा ६५ घर प्रभावित भएका छन् । चिसाङको बाढीले लेटाङमा सयौ विघा धान खेत कटान गरेको छ । बाढीले इटहरा र दर्वेशाको झमनपुर, दौलतपुरमा २ सय भन्दाबढी घर प्रभावित वनाएको प्रहरीले जनाएको छ ।

चिसाङको बाढीले दर्वेसा ४ दौलतपुर र ९ को झमनपुरका दर्जनौं परिवार प्रभावित भएका छन् । रतुवा खोलामा आएको बाढीले महादेवा गाविसलाई प्रभावित बनाएको प्रहरीले जनाएको छ । यसैगरी बक्राहाको बाढीले हसन्दह ३ र ५ वडाको सीमामा रहेको स्पर भत्काएर बाढी बस्तीमा पसेको छ । बाढीले हसन्दह ५ को जयनगर र अमदह २ को सुगाबजारमा प्रभाव पारेको छ । स्थानीय २० परिवार विस्थापित भएका छन् । प्रहरीले उनीहरुलाई स्थानीय विद्यालयमा राखेको छ ।

टेंग्रा खोलाको बाढीले सुनसरीको इटहरीमा जनजीवन प्रभावित भएको छ । भल पसेर ३५ कच्ची घर डुवानमा परेका छन् । करिब ५० पक्की घर पनि डुबानमा छन् । खोलाले धार नाघेर गाउँ प्रवेश गरेपछि विहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाढी रोक्ने प्रयास गरेको थियो । पानी पर्न रोकिएपछि बाढी विस्तारै नियन्त्रणमा आएको छ ।

उपमहानगरका १, ७, ८ र ९ नम्बर वडामा बाढी पसेर सयभन्दा बढी घरहरु डुबानमा परेका छन् । लगातारको वर्षापछि खोलामा बाढी आएकाले आसपास क्षेत्र जलमग्न बनेका हुन् । सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, बसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवनलगायत क्षेत्र प्रभावित भएको छ । अधिकांश घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका अन्र्तगत पकली, हाँसपोसा, एकम्बा, खनारलगायत स्थान डुबानमा परेका छन् । त्यसैगरी सुनसरी मोरङ औद्योगिक करिडोरसमेत जलमग्न बनेको छ । सबैतिर के कति नोक्सानी भयो भन्नेबारे विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताए ।